पाँचथर । पाँचथर गोल्डकपको चौंथो संस्करण फागुन दोस्रो साताबाट सुरु हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिएको हो ।
करिव चार बर्ष रोकिएको प्रतियोगिता पुन सुरु हुन लागेको हो । अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेल मैदानमा हुनेछ ।
आयोजकले यसपटक प्रतियोगिता फाल्गुन १२ गतेबाट १९ गते सम्म हुने बताएको छ । ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रिय टिम पनि समावेश हुने बताइएको छ । प्रतियोगितामा एक टिम आयोजकको हुनेछ ।
प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केहि समय लाग्ने आयोजक क्लबका सचिब योगराज सेढाइले जानकारी दिए । उनका अनुसार मौफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागि गराउने प्रयास भइरहेको जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि खेलाडी, अफिसियलका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शकको समेत बिमा गरिने आयोजकले जनाएको छ ।