काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले फागुनमा आयोजना हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल विधामा सहभागी हुने निर्णय गरेको छ ।
परिषद्को सातौं बोर्ड बैठकले फागुन २४ देखि ३० गतेसम्म आयोजना हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदका सबै खेल विधामा सहभागी हुने निर्णय गरेको हो ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीले यस वर्ष पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ ।
बैठकले प्रतियोगितामा भाग लिने खेलाडीको जिल्ला र प्रदेश छनोट र सहभागीताका लागि आवश्यक पर्ने ३ करोड ५० लाख बजेट प्रदेश सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । यस्तै, कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुदको तयारीका लागि ३ करोड ६० लाख समेत मन्त्रालयमा प्रस्ताव पेश गर्ने परिषद्ले जनाएको छ ।
बैठकले गण्डकी प्रदेश तथा साविकको पश्चिमाञ्चल क्षेत्रबाट कम्तिमा राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी आफै र तीनका सन्तानलाई कक्षा ११ भन्दामाथि उच्च शिक्षा अध्ययनमा सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालयमा मासिक शुल्कमा पुरै छुट र नीजि विद्यालयमा ५० प्रतिशत छुटको ब्यवस्था हुने गरि मिलाउन मन्त्रालयमा तीन महिनाभित्र प्रस्ताव पेश गर्ने गरि कार्यदल गठन गरेको छ ।