काठमाडौं । झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ गतेदेखि सुरु हुने भएको छ ।
आयोजकले मंगलबार प्रेस रिलिज जारी गर्दै प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराएको छ ।
झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ ।
छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने बताईएको छ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको बताईएको छ ।