काठमाडौं । आयुश घलान सहारा वर्ष सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन सत्रमा मंगलबार घलानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
सम्मान सहित घलानले ५० हजार ५ रुपैयाँ प्राप्त गरे । पोखरा उपमहानगरका मेयर धनराज आचार्यले आयुशलाई ताम्रपत्र, अवार्ड सहित सम्मान गरे ।
राष्ट्रिय फुटबल टिमका प्रभावशाली फुटबलर घलानले यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबलमा राम्रो प्रभाव छाडेका छन् ।
हेटौडाका घलानले विश्वकप छनोटको अष्ट्रेलियाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
फ्रेन्चाईज फुटबल क्लब पोखरा थन्डर्सबाट घरेलु फुटबलमा देखिएका आयुशले यस वर्ष मार्की खेलाडीको रुपमा क्लबलाई क्वालिफायरसँग पुर्याएका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबलमा राष्ट्रको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीमध्य एक जनालाई आयोजक सहारा क्लब पोखराले हरेक वर्ष सम्मान गर्दै आएको छ ।