काठमाडौं । पल्सर शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र मछिन्द्रले बराबरी खेलेका छन् । पहिलो हाफमा गोलको वर्षा भएको खेलमा एनआरटी र मछिन्द्रले ४ - ४ गोलको बराबरी खेलेका हुन् । जारी लिगमा यो एकै खेलमा सर्वाधिक धेरै गोल भएको खेल हो ।
पहिलो हाफको चौथो मिनेटमा विदेशी खेलाडी डाइमण्डले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । खेलको नवौं मिनेटमा मछिन्द्रका किपर दिप कार्कीले बल समात्न खोज्दा गोलमा परिणत भएपछि एनआरटीले १ - १ को बराबरी गर्यो ।
तर, दशौ मिनेटमा विशाल राई 'ए' ले गोल गर्दै मछिन्द्रलाई २ - १ को अग्रता दिलाए । अनिल गुरुङको क्रसमा विशालले सहजै गोल गरे ।
खेलको २८ औं मिनेटमा अनिल गुरुङको पासमा खमिर गिल्सन कन्दङ्वाले गोल गर्दै मछिन्द्रको अग्रता ३ - १ को बनाए । ३० औं मिनेटमा खमिरको पासमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ४ - १ को अग्रता दिलाए ।
३० मिनेटभित्र ४ - १ ले पछि परेपनि एनआरटी खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा एनआरटीका अशोक थापाले गोल गर्दै खेल ४ - २ को स्थितिमा ल्याए । लगत्तै ३४ औं मिनेटमा अशोकले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ४ - ३ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको अन्तिम मिनेटमा एनआरटीका सुनिल लामाले पेनाल्टीमा गोल गर्दै खेल ४ - ४ को बराबरीमा ल्याए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । लिगको पुछाररबाट माथि उक्लिन नसकेको एनआरटीलाई आज अवसर प्राप्त छ । तालिकामा स्थान सुधार गर्ने दुवै टोलीको लक्ष्य छ ।
एनआरटी ५ अंक सहित तालिकाको पुछारमा छ । मछिन्द्र ६ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।