काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टीम नेपाल पुलिस क्लबले ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा पुलिसले थ्री स्टारलाई ३ - १ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टारले हार व्यहोरेको हो । पुलिसलाई जित दिलाउन निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे । थ्री स्टारका आबाङ अल्बर्टले एक गोल गरे ।

पुलिसविरुद्ध खेलको १३ औं मिनेटमा अल्बर्टले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । निराजन खड्काले मध्ये भागबाट उपलब्ध गराएको बलमा अल्बर्टले हेड गोल गरेका थिए ।
तर, खेलको २० औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काए । थ्री स्टारका पिटर सेगुनको गल्तीमा निर कुमारले गोल गरेपछि पहिलो हाफको खेल १ - १ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा पुलिसले थ्री स्टारको पोष्टमा दुई गोल गर्यो । खेलको ४७ औं मिनेटमा पाएको पेनाल्टीमा अभिषेकले गोल गर्दै पुलिसलाई २ - १ को अग्रता दिलाए । त्यसपछि खेलको ५५ औं मिनेटमा भोला सिलवालले एकल प्रयासमा गोल गर्दै पुलिसलाई ३ - १ को जित दिलाए ।

यस्तै खेलको ८७ औं मिनेटमा थ्री स्टारले पेनाल्टीबाट गोल संख्या घटाउने मौका पाएको थियो । तर, थ्री स्टारका रञ्जित धिमालको पेनाल्टी प्रहार पुलिसका किपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।
खेलमा पुलिसका अजित भण्डारी म्यान अफ दि म्याच चुनिए ।

पुलिससंगको हारसंगै थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा थ्री स्टारको यो तेस्रो हार हो । थ्री स्टारले ११ खेलबाट २३ अंक जोडेको छ । पुलिस १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।