काठमाडौं । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल बडिबिल्डर महेश्वर महर्जन भोलि(मंगलबार) स्वदेश फर्कने भएका छन् ।
थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्न सफल महर्जन मंगलबार अपरान्ह नेपाल आईपुग्ने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएको छ ।
स्वर्ण विजेता महर्जन अपरान्ह १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।
च्याम्पियनसिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो ।