भक्तपुर । भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानमा आत्मरक्षा सम्बन्धि दुई दिने जनचेतनामुलक प्रशिक्षण तथा तालिम आयोजना भएको छ । नेपाल मार्सल आट सेल्फ डिफेन्स अर्गनाईजेसनको टिमबाट प्रतिष्ठानमा तालिम आयोजना भएको हो ।
मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने भन्नेबारे ज्ञान र सीप सिकाउन तालिम आयोजना गरिएको हो । अर्गनाईजेसनले प्रतिष्ठानका चिकित्सक, नर्स, परियोजना लगायत प्रशासनका कर्मचारीलाई जनचेतनामुलक आत्मरक्षा तालिम दिइएको थियो ।
आत्मरक्षा प्रशिक्षणको प्रमुख उद्देश्य नै महिला हिंसाबारे चेतना जनाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउनु रहेको थियो ।प्रशिक्षणमा ५० जना भन्दा बढिको सहभागिता थियो ।
आत्मरक्षा प्रशिक्षणमा अर्गनाइजेसनका प्राविधिक व्यवस्थापक राधिका अयरले फिजिकल एक्सोसाइजको प्रशिक्षण दिएका थिइन् । यस्तै सहायक प्रशिक्षक रविन्द्र श्रेष्ठ र रोजिना लोहलाले सहयोग गरेका थिए ।
वर्तमान समयमा सभ्य समाज भए पनि केही आपराधिक गतिविधी हावि भएको व्यक्तिहरुको कारण ६ महिनाको शिशु देखि ७० वर्षकी बद्धा समेत सुरक्षित नभएको कारण आत्मरक्षा सम्बन्धि तालिम दिइएको अर्गनाईजेसनकी प्रमुख प्रशिक्षक सञ्जु मर्हजनले बताईन् ।
यस्तै प्रशिक्षक पद्मा खयरगोलीले समस्याको पहिचान, आत्मरक्षा आवश्यकता र उद्देश्य माथि प्रकाश पार्नु हुंदै सरकारी नियम कानुनलाई कुर्नु भन्दा पनि महिला आफै समयमै सचेत, सबल, सक्षम र आत्मबलको लागि यो प्रशिक्षण दिइएको बताईन ।