काठमाडौं । नेपालको राष्ट्रिय पुरुष हक्की टिमले पहिलो अन्तराष्ट्रिय सहभागितामै काँस्य पदक हात पारेको छ । पाकिस्तानको लाहोरमा भएको हक्की सिरिजमा नेपालले तेस्रो स्थान हात पारेको हो ।
अन्तराष्ट्रिय हक्की महासंघको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टिमले पदक जित्न सफल भएको हो । सिरिजमा नेपाल सहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए ।
राउण्ड रोविन लिगका आधारमा खेलाईएको प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो ।
नेपालका तर्फबाट सागर आचार्यले २ गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर 'म्यान अफ दी म्याच' भएका थिए ।
समुह चरणको पहिलो खेलमा काजकिस्तानसंग ६–१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसंग समेत समान गोल स्कोरले पराजित भएको थियो ।
शीर्ष स्थानमा रहँदै उज्वेकिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो ।
पहिलो पटक आधिकारिक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपालले अब हक्कीको विश्व वरियता समेत प्राप्त गर्ने प्रशिक्षक रन्जन थापाले बताए ।