काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
रोमान्चक बनेको पहिलो हाफमा दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।
समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।
भारत ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।
नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।