काठमाडौं । शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ ।
एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार बिहान नौ बजेबाट टियु मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ ।
सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ ।
नेपालमा आयोजना भईरहेको एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।
नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा उसकै घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमान्चक १ रनको जित हात पारेको थियो।
नेपालले ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेलमा नतिजा बिहीन छ ।
यसबीचमा नेपालले ७ देशसँग ओडिआई खेल खेलेको छ । नेपालले युएई,पपुवा न्युगिनी(पीएनजी),स्कटल्यान्ड,नामिबिया,ओमान,अमेरिका र नेदरल्यान्ड्ससँग ओडिआई खेल खेलेको छ ।
४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग टू मा ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो ।
बाँकी १२ खेल दुई देशिय सिरिजको रुपमा नेदरल्यान्ड्स २ ,युएईसँग ६ र पीएनजीसँग ४ खेल खेलेको थियो ।
नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।
नेपालले युएईसँग १३ खेलमा खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो । पीएनजीसँग नेपालले १० खेलमा खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो ।
नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । अमेरिकासँग ६ खेलमा खेलेकोमा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो ।
स्कटल्यान्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो । ओमानसँग ६ खेलमा खेलेकोमा २ मा जित र ४ मा हार व्यहारेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एक मा जित र एकमा हार व्यहोरेको थियो ।
यस बीचमा नेपालले पपुवा न्युगिनी र युएईसँग समान २/२ सिरिज खेलेको छ । नेपालले २०१९ मा युएईलाई उसकै भूमिका तीन खेलको सिरिज २–१ ले हराएको थियो ।
२०२२ मा घरेलु मैदानमा नेपालले युएईलाई २–१ ले हराएको थियो । २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो ।
पीएनजीसँग नेपालले २०२१ मा ओमानमा दुई खेलको सिरिज क्लिनस्विप गरेको थियो । २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडिआई सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो ।
४९ ओडिआईसम्म नेपालबाट ४ खेलाडीले कप्तानले गरेका छन् । नेपालबाट रोहित पौडेलले १९,सन्दीप लामिछानेले १४,ज्ञानेन्द्र मल्लले १० र पारस खड्काले ६ ओडिआई खेलमा कप्तानी गरेका छन् ।
नेपालले आफ्नो ४९ औं ओडिआई खेल भने युएईको विरुद्धमा खेलेको थियो ।