काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा भोली शुक्रबार नेपालले ओमानसँग खेल्दैछ । टियु क्रिकेट मैदानमा शुक्रबार बिहान नौ बजेबाट खेल सुरु हुनेछ ।
प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका दुवै राष्ट्रले दोस्रो जितको खोजीमा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । बुधबार भएको आफ्नो पहिलो खेलमा ओमानले कतारलाई पराजित गरेको थियो ।
समूह चरणको अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता प्राप्त हुनेछ । यो खेल नेपालको ५० औं ओडिआई खेल रहेकोले यो खेल नेपालको लागि बिशेष रहनेछ ।
नेपाल र ओमानबीच ओडिआई खेलमा धेरै पटक प्रतिस्पर्धा भएको छ । दुई टिमका बीच ओडिआई खेलमा ६ पटक भेट भएकोमा ओमान ४ पटक विजयी हुँदा नेपालले २ खेलमा विजयी भएको छ ।
नेपाल ओमानबीचको पहिलो ओडिआई खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको थियो । सो खेल नेपाल १८ रनले पराजित भएको थियो । विश्वकप लिग टू अन्तर्गतको सिरिजका क्रममा सो खेल भएको थियो ।
नेपाल र ओमानबीचको दोस्रो ओडिआई खेल लिग टू सिरिजको सोही नेपाल सिरिजमा भएको थियो । ९ फेब्रुअरी २०२० मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपाल र ओमानबीचको तेस्रो ओडिआई खेल लिग टू सिरिज अन्तर्गत ओमानमा भएको सिरिज अन्तर्गत भएको थियो । १४ सेप्टेम्बर २०२१ मा भएको सो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।
नेपाल र ओमानबीचको चौथो ओडिआई खेल लिग टू सिरिजको अन्तगर्त ओमानमा नै भएको थियो । १९ सेप्टेम्बर २०२१ मा भएको खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । यसै खेलमा ओडिआई ईतिहासमा नै नेपालले पहिलो पटक ओमानलाई पराजित गरेको थियो ।
नेपाल र ओमानबीचको पाँचौ ओडिआई खेल लिग टू सिरिज अन्तर्गतको खेलमा नै अमेरिकामा भएको थियो । ९ जुन २०२२ मा भएको खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।
नेपाल र ओमानबीचको पछिल्लो तथा छैटौं खेल लिग टू सिरिज अन्तर्गत नै अमेरिकामा भएको थियो । सो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।