काठमाडौं । सुनसरीका सिद्धार्थ तामाङ र एससीटीटीएकी सुस्मिता खड्काले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।
यु–१५ सिंगल्सको ब्वाइजमा सिद्धार्थ तथा गर्ल्समा सुस्मिताले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा सिद्धार्थले बीटीटीएका सौरव खड्कालाई ११–६, १६–१४ र ११–८ को सोझो सेटमा पराजित गरे । एभीएमका एरिश शाक्यले जीपीपीएसका आर्यन शाहीलाई ३–२ ले हराउदै तेश्रो भए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुस्मिताले नेपाल प्रहरीकी शुभश्री श्रेष्ठलाई सीधा सेटमा ११–९, ११–२ र १४–१२ ले पाखा लगाइन् । प्रभातकी करिना सुवालले सुनसरीकी सुलेखाकुमार ठाकुरलाई ३–२ ले पन्छ्याउदै तेश्रो बनिन् ।
यु–१९ ब्वाइज सिंगल्समा एभीएमका सुजन गडाल र केभीपीपीसीका विशाल गोले फाइनलमा प्रवेश गरेका छन् । सो स्पर्धाको गल्र्समा एभीएमका इभाना थापा मगर तथा वियंका राई स्वर्णका लागि खेल्ने छन् ।
प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।