विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
पहिलो खेलमा पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिसले २ अंक जोडेको हो ।
विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए । दिलीप नाथले ७ बलमा १० रन बनाए ।
बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए।
यसअघि दिल्लीले १५ ओभर ५ बलमा सबै विकेट गुमाई ८७ रनमा समेटियो । सकिट केडियाले २२ बलमा २९ रन बनाए । उनले २ छक्का र ४ चोक्का हिर्काए । प्रदिप कुमारले १३ बलमा १९ रन पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रमक बलिङ गर्दै ३. ५ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससीले पनि २ अंक जोडेको हो ।
२२२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९ ओभर२ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका दिपक बोहोराले ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका हिर्काए । नरेशले ३ छक्का र २ चौक्का हिर्काउँदै २७ पारी खेल्दा हेमन्त धामीले २२ रनको योगदान दिए ।
बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए ।
यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीको पहिलो जितमा राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे । म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ७३ रनको अर्धशतकीय ईङनिङ खेले ।
सतिशले ३३ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका हिर्काए ।
बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए ।
शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबीच हुनेछ । दोस्रो नेपाल पुलिस र एनबी ग्रुप सुदुरपश्चिमबीच हुनेछ ।