काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन बनायो ।
बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिस,विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले ।
कप्तान फाफले ४६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७९ रन बनाए ।
विराट कोहलीले ४४ बलमा ४ चौका र ४ छक्का सहित ६१ रन बनाए । कप्तान फाफ र कोहलीले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
ग्लेन म्याक्सवेलले २९ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५९ रन बनाए । कप्तान फाफ र म्याक्सवेलले दोस्रो विकेटका लागि अविजित १ सय १५ रनको शतकीय साझेदारी गरे ।
लखनउका लागि मार्क वुड र अमित मिश्राले समान १/१ विकेट लिए ।
लखनउले सिजनको चौथो खेल खेल्दैछ । बेंग्लोरले भने सिजनको तेस्रो खेल खेल्दैछ ।
पहिलो खेलमा लखनउले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो ।
लखनउले दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित हुँदा तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको थियो ।
घरेलु मैदानमा पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई पराजित गर्दा दोस्रो खेलमा भने कलकत्ता नाईट राईडर्ससँग पराजित भएको थियो ।
तीन खेलमा २ जित र १ हारका साथ लखनउ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, दुई खेलमा समान १/१ जित र हार व्यहोरेको बेंग्लोर सातौं स्थानमा रहेको छ ।
हेड टु हेड
बेंग्लोर र लखनउबीच हालसम्म २ खेल भएको छ । जसमा बेंग्लोर अपराजित रहेको छ ।