काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज आईतबार दुई खेल हुदैछ ।
१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा गुजरात टाईटन्स र कोलकत्ता नाईट राईडर्सबीचमा खेल हुदैछ ।
गुजरातको घरेलु मैदानमा नरेन्द्र मोदी स्टेडियममा खेल अपरान्ह पौने ४ मा सुरु हुनेछ ।
दुवै टोली आ-आफ्नो तेस्रो खेल खेल्दैछन् । अपराजित गुजरात आजको खेल जितेर आफ्नो अपराजित यात्रा जारी राख्न चाहान्छ ।
पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई हराएको गुजरातले दोस्रो खेलमा दिल्लीलाई पराजित गरेको थियो ।
कोलकत्ता दुई खेलमा एकमा जित तथा एकमा हारका साथ छैटौं स्थानमा रहेको छ ।
पहिलो खेलमा पन्जाब किंग्ससँग पराजित कोलकत्ताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको थियो।
यी दुई टोली बीचमा कुल एक खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ ।
आज नै हुने दोस्रो खेलमा सनराईजर्स हैदराबाद र पन्जाब किंग्स खेल्दै छन् ।
हैदराबादको घरेलु मैदानमा राजिब गान्धी क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ बाट सुरु हुनेछ ।
अपराजित पन्जाब आजको खेलमा जित हात पारेर अपराजित यात्रा कायम राख्न चाहन्छ ।
पन्जाबले पहिलो खेलमा कोलकत्ता नाईट राईडर्सलाई र दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
दुई खेलमा अंक बिहिन रहेको हैदराबाद आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छ ।
हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।
दुई टोलीबीच अहिलेसम्म भएका १९ खेलमा हैदराबाद १३ तथा पन्जाब ६ खेलमा विजयी भएका छन् ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।