काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ ।
आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो ।
शनिबार गोहावाटीमा भएको खेलमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।
दिल्लीका लागि कप्तान तथा ओपनर डेविड वार्नरले ५५ बलमा ७ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । ललित यादवले २४ बलमा ३८ रन बनाए ।
दिल्लीले शुन्य रन हुँदा नै ओपनर पृथ्वी शा र मनिश पान्डेलाई गुमाएको थियो ।
राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३/३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको हो ।
राजस्थानका लागि ओपनर जोस बटलरले ५१ बलमा ११ चौका र १ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर यसस्वी जैसवालले ३१ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।
पहिलो विकेटका लागि बटलर र जैसवालले ९८ रनको साझेदारी गरेका थिए ।
शिमरन हिटमायरले २१ बलमा अविजित ३९ रन बनाए ।
दिल्लीका लागि मुकेश कुमारले २ तथा रोभमन पावेल र कुलदिप यादवले समान १/१ विकेट लिए ।
तीन खेलबाट ४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा रहेको छ । तेस्रो हारसँगै अंकबिहिन रहेको दिल्ली तालिकाको नवौं स्थानमा रहेको छ ।