काठमाडौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए ।
भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।
दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकिय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।
चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।
युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए ।
पहिलो खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । युएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।
विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न चाहन्छ ।
युएईलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । यो खेल जितेर नेपाल भने २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।
उता, युएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।