काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले अन्तिम खेलमा बिहिबार घरेलु टिमको सामना गर्दैछ ।
नेपाली यू-१९ टोलीले अन्तिम खेलमा यूएईलाई पराजित गरेमा ८ वर्षपछि विश्वकप खेल्नेछ ।
नेपाल र यूएईले सुरुआती चार खेलमा लगातार जित हात पारेका थिए ।
नेपाल र यूएईबीचको अन्तिम खेलको विजेता टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने पक्का भएको हो ।
दुबै टोलीले चौथो जित हातपारेकामा नेटरनरेटका कारण यूएई शीर्ष स्थानमा छ । यूएई ४ खेलमा ८ अंकका साथ ४ दशमलब २६८ नेटरनरेट सहित शीर्ष स्थानमा छ।
नेपाल ४ खेलमा ८ अंकका साथ नेटरनरेट ३ दशमलब ८२९ सहित दोस्रो स्थानमा छ ।
नेपाल र यूएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले २०२४ मा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।
नेपाल आठौं र यूएई चौथो पटक यु१९ विश्वकपमा छनोट हुने सोचका साथ खेल्दै छन् ।
नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।
घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८ विकेटले हराएको थियो।
२०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डीएल मेथडका आधारमा यूएईसँग एक रनले पराजित भएको थियो ।
त्यहिँ एक रनको कारण २०२० मात्रै होईन २०२२ को पनि विश्वकप खेल्न पाएन ।
२०२१ मा कोरोनाको कारण यू-१९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन ।
अघिल्लो छनोटका आधारमा यूएई नै २०२२ को विश्वकपमा छनोट भएको थियो ।