काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालले यूएईसँग खेल्नेछ ।
यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बाट सुरु हुनेछ ।
नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ४ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
नेपालविरुद्ध राम्रो ईतिहास रहेको यूएई लिग टू अंक तालिकाको पुछारमा रहेको पपुवा न्यु गिनीसँग पछिल्लो खेलमा पराजित भएको थियो । यो पराजयबाट यूएई कमजोर रहेको जस्तो देखिए पनि नेपालका लागि प्रत्येक पटक चुनौतीको रुपमा रहेको यूएईलाई यस पटक पनि कमजोर आँक्न मिल्दैन ।
नेपालका लागि खतरा बन्न सक्ने यूएईका चार ब्याटरहरु यसप्रकार रहेका छन् :
१) रोहन मुस्ताफा

यूएईका अनुभवी अलराउन्डर रोहन नेपालका लागि प्रमुख चुनौतीका रुपमा रहेका छन् । मुस्ताफाले एकदिवसीय अन्तराष्ट्रियको ६० खेलमा १ हजार २ सय २० रन बनाएका छन् ।
२०१४ मा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका रोहनले नेपालविरुद्ध ६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै २ अर्धशतक सहित १ सय ८२ रन बनाएका छन् ।
रोहन नेपालका विभिन्न फ्रेन्चाईजि लिगमा समेत पटक पटक आबद्ध रहेका छन् । मुस्ताफालाई हरेक नेपाली खेलाडीको कमजोर बलियो पक्षका बारेमा जानकारी रहेकाले मुस्ताफा नेपालका लागि प्रमुख चुनौती रहेका छन् ।
२) मुहम्मद वासिम

यूएईका ओपनर वासिमले २४ एकदिवसीय अन्तराष्ट्रियमा ४ सय ५३ रन बनाएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा २०२२ मा डेब्यु गरेका हुन् ।
एकदिवसीय अन्तराष्ट्रिय एक वर्षको मात्र अनुभव रहे पनि उनको विष्फोटक ब्याटिङ गर्ने क्षमता नेपालका लागि चुनौती बन्न सक्छन् ।
वासिमले नेपालका लागि ३ खेलमा १ सय ३ रन बनाएका छन् । केही साता अघि मात्र अफगानिस्तानविरुद्ध समेत वासिमले राम्रो ब्याटिङ गरेका थिए ।
त्यसकारण वासिम नेपालका लागि चुनौतीपूर्ण रहेका छन् ।
३) सीपी रिजवान

यूएईका कप्तान समेत रहेका रिजवानले २०१९ मा नेपालविरुद्ध नै एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । रिजवानले ३५ एकदिवसीय अन्तराष्ट्रियमा ८ सय ३६ रन बनाएका छन् ।
रिजवानले नेपालविरुद्ध ७ खेलमा १ सय ३३ रन बनाएका छन् । नेपालविरुद्ध धेरै खेल खेलेका कारण रिजवानलाई नेपालको कमजोर र बलियो पक्षकाबारेमा जानकारी रहेकोले रिजवान नेपालका लागि मुख्य चुनौतीका रुपमा रहेका छन् ।
४) वृत्य अरबिन्द

यूएईका विष्फोटक ब्याटर अरबिन्दले ३२ एकदिवसीय अन्तराष्ट्रियमा ९ सय ६० रन बनाएका छन् । अरबिन्दले २०१९ मा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
अरबिन्दले नेपालविरुद्ध ५ खेलमा ९२ रन बनाएका छन् । नेपालविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रियमा राम्रो प्रदर्शन गरेका उनी एकदिवसीय अन्तराष्ट्रियमा समेत प्रमुख चुनौती रहेका छन् ।