काठमाडौं । यूएईमा जारी रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालले यूएईसँग खेल्नेछ ।
यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ ।
नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ४ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । २०१८ अगस्ट ३० मा मलेसियाको किन्नारा ओभलमा भएको खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।
सो खेलमा नेपालका सुवास खकुरेलले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामी २७ रनमा अविजित रहेका थिए । बलिङमा सन्दीप लामीछानेले ४ विकेट तथा सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिएका थिए ।
नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
त्यहि सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।
सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
नेपाल र यूएईबीचको पाचौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।
सोही सिरिज अन्तर्गको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौं भेट थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।
नेपाल र यूएईबीचको सातौं खेल गत बर्ष नेपालमा आयोजना भएको नेपाल र यूएईबीचको सिरिजको पहिलो खेलमा भएको थियो । नोभेम्बर १४ २०२२ मा भएको खेलमा यूएई ८४ रनले विजयी भएको थियो ।
सो खेलमा टस जितेको नेपालले पहिला बलिङ गरेको थियो । यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । यूएईका लागि रोहन मुस्ताफाले ५३ तथा मुहम्मद वासिमले ४१ रन बनाएका थिए ।
२ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रज मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । यूएईका लागि आयान खानले ४ तथा वासिल हमिदले २ विकेट लिएका थिए ।
सोही सिरिजको दोस्रो खेलमा नेपाल र यूएईको आठौं भेट भएको थियो । नोभेम्बर १६ २०२२ मा भएको यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । टस हारेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ४३ ओभर २ बलमा अलआउट गर्दै १ सय ९१ रन मात्र बनाउन दियो । नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले समान ३/३ विकेट लिए । यूएईका लागि मुहम्मद वासिमले ५० तथा अलिशान शरफुले ३५ रन बनाए ।
१ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलशन झाले ३७ तथा कुशल भुर्तेलले ३५ रन बनाए । यूएईका लागि रोहन मुस्ताफाले ३ तथा हर्जत बिलालले २ विकेट लिए ।
नेपाल यूएईको सिरिजको अन्तिम खेलमा नेपाल र यूएईको पछिल्लो भेट भएको थियो । सो खेल नेपालले ६ विकेटले जितेको थियो । नोभेम्बर १८ २०२२ मा भएको खेलमा टस जितेर नेपालले पहिला बलिङ गरेको थियो । नेपालले यूएईलाई ५० ओभरमा ९ विकेट लिएर १ सय ७६ रन मात्र बनाउन दियो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । यूएईका लागि आयान खानले ५४ तथा अलिशान शरफुले ३३ रन बनाए ।
१ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ८८ तथा ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । यूएईका लागि आयान खान तथा हर्जत बिलालले समान १/१ विकेट लिए ।