काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेलाई युएई पठाउन आईसीसीको स्विकृतीको पर्खाइमा रहेको छ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले आईसीसीबाट सन्दीपलाई यूएई पठाउन स्विकृती नआएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।
'आईसीसीबाट स्विकृती नआई हामीले अन्य प्रकृया सुरु गर्न मिल्दैन । हामीले आईसीसीलाई सन्दीपलाई उता पठाउन स्विकृती मागेका छौं ।' पाठकले खेलपाटीसँग भने 'हामी आईसीसीको जवाफको पर्खाईमा रहेका छौं ।'
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली यूएईमा छ । नेपालले पहिलो खेलमा सोमबार पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।