काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो ।
कुवेतका लागि जुधा सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए ।
अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो ।
विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।
नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।
कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २/२ तथा जय महेशकुमार मेहता १ विकेट लिए ।
दोस्रो जित हात पारेको नेपाल २ खेलमा ४ मा रहेको छ । समान अंक रहेको यूएई भन्दा रन औसतमा पछि परेर नेपाल दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।