काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालविरुद्ध ३ सय ४४ रनको लक्ष्य पछ्याईरहेको कुवेतविरुद्ध नेपाल सानदार जित नजिक पुगेको छ ।
कुवेतले २५ ओभरको समाप्तीमा ८९ रन बनाउँदा ८ विकेट गुमाईसकेको छ ।
नेपालका लागि आकाश चन्दले ४ तथा दिपेश कंडेल र हेमन्त धामीले समान २/२ विकेट लिएका छन् ।
खेलमा नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ ।
यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए ।
अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो ।
विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।
नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।
कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २र२ तथा जय महेशकुमार मेहता १ विकेट लिए ।
प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।