काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक प्रहार गरेका छन् ।
देवले ६४ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३० ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ ।
अहिले क्रिजमा अर्जुन कुमाल र कप्तान देव खनाल रहेका छन् ।
नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।
कुवेतका सहिल काज्मीले १ विकेट लिए । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।