काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् ।
सर्वोच्च अदालतले शुक्रबार सन्दीपलाई विदेश भ्रमणमा जान अनुमति दिन नमिल्ने आदेश दिएको छ ।
सन्दीपले दायर गरेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो।
सन्दीपले विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर, अन्तरिम आदेश दिन अस्वीकार गर्दै न्यायाधीश खतिवडाले आइतबार पुन: सुनुवाइ हुने गरि आदेश दिएका छन्।
एक नाबालिकलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।
जसको कारण सन्दीपले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न नपाउने भएका थिए ।
नेपाली टोली शनिबार युएई प्रस्थान गर्दै छन् । युएई जाने टोलीमा सन्दीप अटाएका छैनन् ।
घरेलु मैदानमा मंगलबार सम्पन्न लिग टू अन्तर्गत नै नामिबिया र स्कटल्याण्ड रहेको सिरिजमा सन्दीप टोलीमा थिए ।
करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले उक्त सिरिजको ४ खेलमा ४० ओभर बलिङ गरेर १ सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए ।
युएई भ्रमणमा नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
युएई जाने टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।