काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली २०२४ मा श्रीलंकामा आयोजना हुने १५ औं संस्करणको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न यूएई पुगिसकेको छ ।
नेपालले सो प्रतियोगितामा आयोजक मुलुक सहित सिङ्गापुर,हङकङ,कुबेत र मलेसिया रहेका छन् । नेपाली टोली देव खनालको कप्तानीमा त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले २०१६ मा बंगलादेशमा भएको विश्वकपमा अन्तिम पटक सहभागीता जनाएको थियो ।
सात पटकसम्म यू-१९ विश्वकपमा सहभागीता जनाईसकेको नेपालले विभिन्न समयमा टेस्ट राष्ट्रलाई समेत हराई सकेको छ ।
तेस्रो संस्करणको विश्वकप जुन २००० मा श्रीलंकामा भएको थियो , त्यसमा पहिलो पटक स्थान बनाएको नेपालले त्यस पछि सातौं संस्करण नियमित खेल्यो । २०१० मा न्युजिल्याण्डमा भएको विश्वकपमा छनोट हुन नसकेको नेपालले अष्ट्रेलियामा भएको २०१२ को विश्वकपमा भने खेल्न सफल भयो । २०१४ मा यूएईमा आयोजना भएको दशौं संस्करणमा पुन छनोट हुन नसकेको नेपालले २०१६ मा बंगलादेशमा आयोजना भएको एघारौं संस्करणमा अन्तिम पटक सहभागीता जनायो ।
२०१८,२०२० र २०२२ को विश्वकपका लागि छनोट हुन नसकेको नेपाल यस पटकको विश्वकपका लागि भने छनोट हुनेमा पूरा विश्वस्त रहेको छ । 'एज ग्रुपमा कुनै पनि टिम बलियो भन्ने हुदैन सबै एभरेजका नै हुन्छन् । वान बाई वान लिएर जान्छौ सबै खेलहरु । र विश्वकपमा नेपाललाई छनोट गराएर ल्याउने सपना रहेको छ । राम्रो प्रदर्शन गरेर सिनियर टिममा फर्कने सपना रहेको छ ।' यूएई जानु अघि नेपाली यू-१९ टोलीका कप्तान देव खनालले भनेका थिए ।
टिममा रहेका सबै खेलाडी नेपाललाई विश्वकपमा छनोट गराउन टिम एकदमै ब्यालेन्समा रहेको टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बताए । 'सर्वप्रथम त हामी सबै नेपालीलाई बधाई छ जुन की सिनियर टोलीले ब्याक टु ब्याक चार वटा खेल जितेको छ । यसबाट हाम्रो टोलीका केटाहरु पनि उत्साहित भएका छन् । हामीले ५५/६० दिनको क्याम्पमा रह्यौ अभ्यास खेलका रुपमा सिनियर टोलीसँग पनि ६/७ म्याच खेल्यौ । सिनियर टिमलाई पनि म धन्यवाद भन्न चाहान्छु हामीसँग खेलिदिनु भएकोमा । टिम ब्यालेन्समा रहेको छ । केटाहरुमा केही गर्नुपर्छ भन्ने भावना रहेको छ ।' टमाटाले भने 'हामीमा एउटा गोल छ कि यो छनोट जितेर विश्वकप खेल्नुछ भनेर । समग्रमा हाम्रो टोली एभ्रेज छ । सिनियर टिमबाट खेलिसकेको देव हाम्रो कप्तान छ ।आफ्नो प्रदेश र जिल्लाबाट राम्रो प्रदर्शन गरिरहेका केटाहरु हामीसँग छन् । फास्ट बलिङमा हामी अलि राम्रो नै छौ । अरु पक्षमा पनि हामी बलियो नै रहेका छौ ।'