काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत यूएईले नामिबियालाई पराजित गरेको छ ।
यूएईले नामिबियामाथी १ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले दिएको ९२ रनको लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
यूएईका लागि आयान खानले अविजित ३५ रन बनाउँदा वृत्य अरबिन्दले १८ रन बनाए । कप्तान सीपी सिजवान र मुहम्मद वासिमले ११/११ रन बनाए । युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि टाङ्गिनी लुगामिनीले ४ तथा रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३१.१ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनायो ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ४१ बलमा ३० रन बनाए । जेन ग्रिनले २८ बलमा २४ रन बनाउँदा माईकल भान १५ रनमा आउट भए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस सहित चार खेलाडी डगआउट भए । अन्तिम विकेटका लागि भएको २२ रनको साझेदारी नै सबैभन्दा ठुलो रह्यो ।
यूएईका लागि जाहोर खान, आयान खान र कार्तिक मैयप्नले समान ३/३ तथा हर्जत बिलालले १ विकेट लिए ।
जितसँगै यूएईको २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।