काठमाडौं । युवा तीव्र गतिका बलर प्रतिश जी.सी तथा लेग स्पिनर मौसम ढकालले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत युएइमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको टोलीमा यि दुई नयाँ अनुहारले मौका पाएका हुन् ।
तीव्र गतिका बलर प्रतिशले बागमती प्रदेश र ढकालले नेपाल एपीएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने गरेका छन् ।
लेग स्पिनर ढकालले सन्दीप लामिछाने टोलीमा नभएपछि मौका पाएका हुन् ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।
प्रतिश र मौसम केही दिन अघि भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा वैकल्पिक खेलाडी सूचिमा थिए ।
मौसम र प्रतिश नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सबाट खेलेका थिए । लिगमा दुवैको प्रदर्शन राम्रो रहेको थियो ।
नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएइ भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएइ भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएइसँग खेल्नेछ ।
नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।
नेपाली टोली -
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र मौसम ढकाल