काठमाडौं । नेपालका लागि सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् । सन्दीपले ७.५ ओभरमा स्कटल्याण्डका पुर्व कप्तान कायल कोट्जरलाई आउट गराएका छन् । कोट्जरले २३ बलमा २२ रन बनाएका थिए ।
क्रिजमा अहिले जर्ज मुन्शे १९ तथा क्रिस्टोफर म्याकब्रिड २ रनमा रहेका छन् । कोट्जर र मुन्शेले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।
गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीले स्थान बनाएका छन् ।
सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।
शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।
विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग टू को सुखद अन्त्य गर्न चाहन्छ ।
२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।
मंगलबार स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।
शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,कुशल मल्ल,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी