काठमाडौं । रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको हो ।
स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए ।
माईकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए ।
नामिबिया नेपाल सिरिजको अन्तिम खेलमा जित सहित समाप्त गर्न चाहान्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।
स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहान्छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ ।
स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो ।
नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।