काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नामिबियाले सुरुआतमा बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नामिबिया नेपाल सिरिजको अन्तिम खेलमा जित सहित समाप्त गर्न चाहान्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।
स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहान्छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ ।
स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो ।
नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।