काठमाडौं । पाहुना टोली अफगानस्तानले यूएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ ।
आईतबार राती सकिएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली ६ विकेटले विजयी भएसँगै अफगानिस्तानले सिरिज २-१ ले जितेको हो ।
शेख जायद क्रिकेट स्टेडियम अबुधावीमा भएको खेलमा यूएईले दिएको १ सय ६४ रनको लक्ष्य अफगानीस्तानले ५ बल बाकीँ रहदै ४ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानको जितमा इब्रहिम जार्डान र करिम जन्नतले अर्धशतकीय ईनिङ खेले । जार्डानले ५१ बलमा ६० रनको अविजित ईनिङ खेले । उनले ५ चौका तथा १ छक्का प्रहार गरे ।
जन्नतले २२ बलमा ५६ रनको विस्फोटक ईनिङ खेले । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
जन्नत र जार्डानले ५ औ विकेटका लागि ८० रनको अविजित साझेदारी गरे ।
रहिमउल्लाह गुर्वाज २० रनमा आउट हुँदा अफसर जाजइले १३ रन बनाए ।
यूएईले १६ रन अतिरिक्त स्वरुप दिएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
घरेलु टोलीका लागि मुहम्मद वासिम र वृत्य अरबिन्दले अर्धशतकीय ईनिङ खेले । वासिमले ५० बलमा ७५ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे ।
अरबिन्दले ५३ बलमा ५९ रन बनाए । उनले ७ चौका तथा १ छक्का प्रहार गरे ।
वासिम र अरबिन्दले पहिलो विकेटका लागि १ सय २९ रनको साझेदारी गरे । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानले १५ रन अतिरिक्तमा दिएको थियो ।