धनगढी । भैरहवामा जारी खड्गप्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार भएको खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सिईसी) लाई ८ रनले पराजित गरेको हो।
डिसिएले दिएको ८९ रनको लक्ष्य पछ्याएको सिईसी २०.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो ।
सिईसीका लागि ओमकर यादवले ३४ तथा सिद्धान्त साउद र स्मिथ बुढाले समान १४–१४ रन बनाए । डिसिएका निरज ऐर, दिनेशराज जोशी र निशान्त रेग्मीले समान २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको डिसिएले २०.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । डिसिएका आशिष लुहारले १७ र निरज ऐरले १४ रन जोडे ।
सिईसीका किरण घर्तीमगरले ४ तथा ओमकार यादव र सिवाकर श्रेष्ठले समान २–२ विकेट लिए ।
डिसिएले यसअघि शनिबार भएको खेलमा बुटवलको न्यू होइजन एकेडेमीलाई पराजित गरेको थियो ।