काठमाडौं । सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका छन् । विगत केही महिना यता सर्वाधिक चर्चामा रहेका नेपाली क्रिकेट खेलाडीमा पर्छन् लामिछाने ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
सन्दीप नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भईसकेका छन् । नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा राखेको हो ।
उनले करिब ६ महिना पछि नेपाली टोलीमा पुनरागमन गर्दा पहिलो खेलमा नामिबियाविरुद्ध खेलेका थिए । पुनरागमन भएको खेलमा नै ३ विकेट लिएका उनले आफ्नो बलिङ अझै राम्रो रहेको प्रमाणित गरे । तर, लामिछानेले नामिबियाविरुद्धको खेलमा आफ्नो एकदिवसीय अन्तराष्ट्रिय करियरका नै सबैभन्दा बढी रन खर्चिए ।
लामिछानेले सो खेलमा १० ओभर बलिङ गर्दै ६६ रन खर्चिएका थिए । नेपालले त्यस खेल २ विकेटले जितेको थियो ।
त्रिकोणात्मक सिरिजमा नै नेपालले दोस्रो खेलमा गत शुक्रबार स्कटल्याण्डसँग खेल्यो । खेलमा लामिछानेले आफ्नो लय जारी राखे । अघिल्लो खेलमा केही महँगो बनेका लामिछानेले यस खेलमा मात्र २७ रन खर्चिए । उनले १० ओभरमा २७ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए । सो खेल नेपालले ३ विकेटले जितेको थियो ।
सिरिजको तेस्रो खेलमा लामिछाने १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । सो खेल नेपालले ३ विकेटले जित्यो ।
राजधानीमा जारी यस सिरिजमा पुनरागमन गरेका लामिछानेले ३ खेलमा ३० ओभर बलिङ गरेर १ सय ३९ रन दिएर ९ विकेट हात पारिसकेका छन् । लामिछानेले २०१९ देखि जारी रहेको विश्वकप लिग टू मा ५० विकेट पूरा गरिसकेका छन् । उनले २३ खेलमा यो आकँडा पार गरेका हुन् ।
अबको १० एकदिवसीय अन्तराष्ट्रिय खेलमा २२ विकेट लिएमा लामिछानले १ सय विकेट छिटो बनाउने खेलाडीको शीर्ष स्थान लिने छन् ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।