काठमाडौं । चीनमा आयोजना हुने एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोट सुरु भएको छ ।
सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबारबाट करातेको खेलाडी छनोट सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले छनोटको उद्घाटन गरे ।
शनिबार एकल काता पुरुष, महिला र पुरुष ६० केजी तौल गरि ३ स्पर्धाबाट १२ खेलाडी छनोट भए ।
पुरुष एकल काताबाट पहिलो भएका एपीएफका स्वर्निभ मानन्धर, दोस्रो भएका पुलिसका प्रविन मानन्धर, तेस्रो भएका पुलिसका महशुस मोक्तान तथा बागमतीका रेहन जावेद छनोट भए ।
महिला एकल कातामा पहिलो भएकी पुलिसका चन्चला दनुवार, दोस्रो भएका कर्णालीका एलिसा मगर, तेस्रो भएका पुलिसका सरु कार्की र आर्मीका रिना श्रेष्ठ छनोट भए ।
पुरुष ६० केजीमा पुलिसका सोनाम लामा पहिलो हुँदै छनोट हुँदा दोस्रो भएका आर्मीका बिजय रिमाल, तेस्रो भएका एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।
छनोटबाट महिला र पुरुषको ६/६ गरि १२ तौल समूहबाट ४/४ जना खेलाडी छनोट गरेर प्रारम्भिक बन्द प्रशिक्षणमा राखिने करातेको सहायक मुख्य प्रशिक्षक तथा सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठले जानकारी दिए ।
चीनको होङजाउमा आयोजना हुने एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।
नेपालबाट एसियन गेम्समा करातेसहित २३ खेल समावेश गरिएको छ ।