काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोर विश्वको सबैभन्दा ठुलो ईण्डियन प्रिमियर लिग(आईपीएल) को एक प्रतिष्ठित फ्रेन्चाईजि टिम हो ।
बेंग्लोर २००८ मा आईपीएलसँगै आफ्नो यात्रा थालनी गरेको टोली हो । २००९,२०११ र २०१६ को आईपीएलको फाइनलमा स्थान बनाए पनि बेंग्लोर च्याम्पियन हुन भने सकेको छैन । भारतको बेंग्लोर शहरको फ्रेन्चाईजि रहेको यस टोलीको ठुलो फ्यान बेस रहेको छ ।
अहिलेसम्म उपाधीबाट विमुख रहे पनि यस टोलीले आईपीएलमा केही यस्ता किर्तिमान बनाएको छ । जुन किर्तिमान तोड्न कठिन रहेको छ ।
बेंग्लोरले आईपीएलमा हालसम्म बनाएका पाँच कीर्तिमानहरु यसप्रकार रहेको छ :
१) उच्च टिम स्कोर :
एकै ईनिङमा सवार्धिक टिम स्कोर बनाउने टोली बेंग्लोर हो । २०१३ को छैठौं संस्करणको आईपीएलमा पुने वारियर्सविरुद्ध बेंग्लोरले ५ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरका लागि क्रिस गेलले १ सय ७५ रनको ईनिङ खेलेका थिए । सो खेल बेंग्लोरले १ सय ३० रनले जितेको थियो ।
२) उच्च व्यक्तिगत रन :
२०१३ को छैठौं आईपीएलमा २ सय ६३ रन बनाएको खेलमा वेस्ट इण्डिजका क्रिस गेलले एकै ईनिङमा सर्वाधिक धेरै व्यक्तिगत रन बनाएका थिए । गेलले सो खेलमा ६६ बलमा १३ चौका र १७ छक्काको सहयोगमा १ सय ७५ रन बनाएका थिए ।
गेलको १ सय ७५ रनको सहयोगमा बेंग्लोरले सो खेल १ सय ३० रनले जितेको थियो ।
३) सर्वाधिक ठूलो साझेदारी :
२०१६ को नवौं संस्करणको आईपीएलमा बेंग्लोरका तत्कालिन कप्तान विराट कोहली तथा एबी डिभिलियर्सबीचमा सर्वाधिक ठुलो साझेदारी भएको थियो ।
गुजरात लायन्सविरुद्धको खेलमा दोस्रो विकेटका लागि २ सय २९ रनको साझेदारी गरेका थिए । दुई बीचको दोहोरो शतकीय साझेदारीको सहयोगमा बेंग्लोरले सो खेलमा ३ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।
४) सर्वाधिक धेरै शतक :
सर्वाधिक धेरै शतक बनाउने टिममा बेंग्लोर शीर्ष स्थानमा रहेको छ । आईपीएलमा हालसम्म बेंग्लोरका खेलाडीले १५ शतक बनाएका छन् ।
बेंग्लोरका लागि पुर्व कप्तान विराट कोहली तथा वेस्ट इण्डिजका ब्याटर क्रिस गेलले समान ५/५ शतक बनाएका छन् । दक्षिण अफ्रिकाका ब्याटर एबी डिभिलियर्सले २ तथा मनिश पाण्डे,देवदत्त पाडिकल र रजत पाटीदारले समान १/१ पटक शतक बनाएका छन् ।
कोहलीले २०१६ को ९ औं आईपीएलमा चार शतक र २०१९ को १२ औं संस्करणमा एक शतक बनाएका थिए । क्रिस गेलले भने २०११ को चौथो संस्करणमा पहिलो शतक प्रहार गरेकामा २०११ मा अर्को शतक पनि बनाएका थिए ।
२०१२,२०१३ र २०१५ को आईपीएलमा गेलले बेंग्लोरका लागि शतक बनाएका थिए । एबीले २०१५ को आठौं संस्करणमा मुम्बई ईण्डियन्सका विरुद्धमा पहिलो शतक बनाएका थिए । उनले २०१६ को नवौं संस्करणमा गुजरात लायन्सका विरुद्धमा बेंग्लोरका लागि शतक बनाएका थिए ।
आईपीएलमा बेंग्लोरका लागि पहिलो शतक बनाएका मनिष पाण्डेले डेक्कन चार्जसका विरुद्धमा २००९ मा शतक बनाएका थिए ।
पाडिकलले २०२१ को सिजनमा राजस्थान रोयल्सका विरुद्धमा शतक बनाएका थिए । बेंग्लोरका लागि पछिल्लो शतक २०२२ मा लखनउ सुपर जायन्टस विरुद्ध रजत पाटिदारले बनाएका थिए ।
५) सर्वाधिक धेरै छक्का :
एकै ईनिङमा सर्वाधिक धेरै छक्का प्रहारको किर्तिमान समेत बेंग्लोरले बनाएको छ । २०१३ को छैटौं संस्करणमा पुने वारियर्सविरुद्ध क्रिस गेलले १ सय ७५ रन बनाउने क्रममा १७ छक्का प्रहार गरेका थिए ।
छक्काबाट मात्र गेलले सो खेलमा १ सय २ रन बनाएका थिए ।