काठमाडौं । जापानमा आगामी बर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको छ ।
बुधबार नेपाल आइपुगेको विश्वकप ट्रफी बिहिबार सगरमाथाको आधार शिविर कालापत्थरमा प्रदर्शनी गरिएको छ । नेपाल रग्बी संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको जनाएको छ ।
विश्व रग्बी ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी नेपाल आईपुगेको हो । अब रग्बी ट्रफी शुक्रबार विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने छ ।
त्यस्तै मंसिर २२ गते टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान प्रदर्शनी गरिनेछ छ । फेस्टिभलमा स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ ।
ट्रफी टुरको अन्तिम दिन मंसिर २३ गते राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वहरुसंग फोटो खिच्ने र प्रदर्शनी गरीने कार्यकम रहेको छ ।
नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी ल्याईसकिएको छ ।
रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । उक्तकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।