काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम स्पट फिक्सिङको अभियोगमा सोमबार पक्राउ परे ।
नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले महबुब मुख्य योजनाकार रहेको दाबी गरेको छ । महबुबको योजनामा आदीलले स्पट फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।
आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।
नेपाली क्रिकेटका भविष्यका रुपमा हेरिएका आदिल र नेपाली क्रिकेटमा आदर्शका रुपमा रहेका मेहबुबको पक्राउपछि नेपाली क्रिकेटमा तरङ्ग ल्याएको छ ।
स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो छ त ?
आदिल अन्सारी -
२०६० कार्तिक १ गते बारा जिल्लाको सिमौरगढमा जन्मिएका आदिलको सानै उमेरबाट क्रिकेटमा रुची रहेको थियो । मधेश प्रदेशको यू-१९ टोलीका सदस्य रहेका आदीलले उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
अलराउण्डर आदीलले गत मार्चमा कीर्तिपुरमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको सिरिज दौरान राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
उनले पपुवा न्युगिनीविरुद्धको खेलमा ३१ मार्च २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
राष्ट्रिय टोलीविरुद्धको पहिलो खेलमा नै उत्कृष्ट खेल देखाएका आदिलले ११ बलमा ३ छक्का सहित ३१ रन बनाएका थिए । आदिलले नेपालका लागि ८ टीट्वान्टी अन्तराष्ट्रिय खेल्दै १ सय १० रन बनाउँदै ५ विकेट लिएका छन् ।
नेपालका लागि गएको जुनमा आदिलले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । उनले अमेरिकामा भएको विश्व क्रिकेट लिग टूमा अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा आदीलले ३ महत्वपुर्ण विकेट लिएका थिए । उनको महत्वपुर्ण विकेटका साथमा खेल बराबरी भएको थियो । आदिलले नेपालका लागि ६ एकदिवसीय खेलमा १ सय १० रन बनाउँनुका साथै ६ विकेट लिएका छन् ।
महबुब आलम -
४१ वर्षीय बलर महबुब सप्तरीको राजविराजमा जन्मिएका हुन् ।
महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन-५ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन् । सोही प्रतियोगितामा नर्वेविरुद्धको जितमा महत्वपूर्ण ५१ रन बनाएका थिए।
महबुबले सन् २००४ को मार्चमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
महबुबले २०१२ मा हङकङविरुद्ध खेल्दै टी-ट्वान्टीमा डेब्यु गरेका थिए । यस्तै उनले सन् २०१५ मा पपुवा न्युगिनीविरुद्धको खेलबाट ‘लिस्ट ए’ मा डेब्यु गरेका थिए ।
महबुबले लिस्ट 'ए' मा ४ खेल खेल्दा २० रन र ४ विकेट लिएका छन् । टी-ट्वान्टीमा ७ खेल खेल्दा उनले ३४ रन र १ विकेट लिएका छन् ।