काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सले म्याच फिक्सिङमा आफुहरु संग्लग्न नभएको दाबी गरेको छ ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको दाबी गरेको छ ।
सेभेन थ्री स्पोर्ट्सले विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको समेत उल्लेख गरेको छ ।
'म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छ । प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको पाईएको छ । स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सेभेन थ्री स्पोर्ट्सले सीआईबीको अनुसन्धानमा प्रोत्साहन र सहयोग गर्ने समेत जनाएको छ ।
यस्तै सेभेन थ्री स्पोर्ट्सले कम्पनीका मालिक जतिन अहलुवालिया नेपालबाट नभागेको स्पस्ट पारेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।
तर, सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता विवादमा पर्दै आएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको भन्दै तत्काल खारेज गर्न सुझाव दिएको छ ।
राखेपद्धारा गठित कार्यदलले क्यानले गरेको सम्झौता प्रचलित ऐन, नियम विपरित रहेको ठहर गरेको थियो ।