काठमाडौं । नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि नेपाल क्रिकेट संघ क्यानले सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता तत्काल खारेज गर्न सुझाव दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिगमा देखिएको स्पट फिक्सिङ सहितको विवाद छानविनका लागि गठित कार्यदलले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्याएर गरिएको नेपाल टी ट्वान्टी लिग सम्बन्धि सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय हुने ठहर गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले ऐन, नियम विपरित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा ८ वर्षको सम्झौता गरेको थियो । राखेपद्धारा गठित कार्यदलले क्यानले गरेको सम्झौता प्रचलित ऐन, नियम विपरित रहेको ठहर गरेको थियो ।
क्यानले ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा भित्राएको सेभेन थ्री स्पोट्सनै स्पट फिक्सिङ, बेटिङ सहित गैरकानुनी धन्दामा संलग्न भएको विभिन्न अनुसन्धानबाट देखिएको छ ।
क्यान मुख्य आयोजक बनेर सञ्चालन गरिएको पहिलो संस्करणको नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ सहित खेलाडीको पारिश्रमिक सहित श्रम स्विकृतिको विवाद देखिएपछि राखेपले कार्यकारी बोर्ड सदस्य यकेन्द्र कुँवरको नेतृत्वमा छानविन कार्यदल गठन गरेको थियो ।
कुँवर नेतृत्वको कार्यदलले विवादमा तानिएका र सरोकारवाला पक्षसँग संवाद र अनुसन्धानमार्फत प्रतिवेदन तयार गरेर राखेपलाई बुधबार बुझाएको छ ।