काठमाडौं । महिला ईण्डियन प्रिमियर लिग (डब्लुआईपीएल)मा सहभागिता जनाउने ५ टोलीको टुंगो लागेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार टिम लिलामीमार्फत ५ टोलीको टुंगो लगाएको हो ।
बीसीसीआईले ४६६९.९९ करोड भारतीय रुपैयामा बिभिन्न कम्पनीलाई बिक्रि गरेको छ ।
सर्वाधिक मंहगो रकममा अडानी स्पोर्ट्स लाइन प्राइभेट लिमिटेडले अहमदावादको टोली किनेको छ । उसले १२८९ करोड भारतिय रुपैया अहमदाबाद टोली किनेको हो ।
मुम्बईको फ्रेन्चाईज किनेको इण्डियाविन स्पोर्ट्स प्राइभेट लिमिटेडले ९१२.९९ करोड भारु खर्च गरेको छ ।
बेंग्लोरको फ्रेन्चाईज खरिद गरेको रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडले ९०१ करोड भारु खर्चिएको छ ।
दिल्लीको फ्रेन्चाईज खरिद गरेको जेएसब्डलु जिएमआर क्रिकेट प्राईभेट लिमिटेडले ८१० करोड भारु खर्चिएको छ ।
लखनउको फ्रेन्चाईज खरिद गरेको काप्री ग्लोबल होल्डिग्स प्राइवेट लिमिटेडले ७५७ करोड भारु खर्च गरेको छ ।
बीसीसीआईले हालै महिला आईपीएलको मिडिया राइट्स ठूलो रकममा बेचेको थियो । उसले भायकम १८ लाई ९५१ करोड भारुमा २०२३ देखि २०२७ को बीचमा पाँच वर्षको अवधिको लागि प्रशारण अधिकार बेचेको हो ।
पहिलो पाँच वर्षमा मिडिया राइट्सबाट प्राप्त हुने रकमको ८० प्रतिशत रकम पाँच फ्रेन्चाइजलाई वितरण गरिने छ । बुधबार भएको फ्रेन्चाइज लिलामीमा १६ वटा कम्पनीले भाग लिएका थिए । पहिलो संस्करणको डब्लुआईपीएल आगामी मार्चमा भारतमा हुनेछ ।
डब्लुआईपीएलको पहिलो संस्करणका लागि खेलाडी अक्सन फेब्रुअरीको पहिलो हप्तामा हुनेछ । अक्सनका लागि प्रत्येक टोलीले १२ करोड भारु खर्च गर्न पाउनेछन् ।