काठमाडौं । न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गर्दै भारत एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
पाहुना टोली न्युजिल्याण्डविरुद्ध तेस्रो एकदिवसीय खेलमा भारत ९० रनले विजयी भएको थियो ।
भारतले दिएको ३ सय ८६ रनको लक्ष्य पछ्याएको पाहुना टोली ४१.२ ओभरमा २ सय ९५ रनमा समेटिएको थियो ।
न्युजिल्याण्डका लागि डेभोन कन्वेले १ सय ३८ रनको शतकीय ईनिङ खेलेका थिए । उनले एक सय बलमा १२ चौका र ८ छक्काको सहयोगमा १ सय ३८ रन बनाएका थिए ।
हेनरी निकोलसले ४२ तथा माईकल ब्राकवेलले २६ रन बनाएका थिए ।
भारतका लागि शार्दुल ठाकुर र कुलदिप यादवले ३/३ तथा युजभेन्द्र चहलले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय ईनिङ खेलेका थिए ।
शर्माले ८५ बलमा १ सय १ तथा गिलले ७८ बलमा १ सय १२ रन बनाएका थिए । हार्दिक पाण्ड्याले ५४ रनको अर्धशतकीय ईनिङ खेल्दा विराट कोहलीले ३६ रन बनाएका थिए ।
पाहुना टोलीका लागि जाकोफ डुफि र बिल टिकनरले समान ३/३ विकेट लिए ।
भारतसँग दोस्रो एकदिवसीय खेलमा हार व्यहोरेर दोस्रो स्थानमा झरेको न्युजिल्याण्ड नयाँ वरीयतामा चौथो स्थानमा पुगेको छ ।