काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको छ ।
सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ भएको जनाएको छ ।
सीआईबीले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमलाई सोमबार पक्राउ गरिएको समेत जनाएको छ ।
छानबिनमा महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जनाएको छ ।
महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।
'पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुब आलमले कम्तिमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको र नेपाली खेलाडी मोहमद आदील आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नका लागि अप्रोच आएको, उनले खेलेको कम्तीमा दुई वटा खेलमा सोहि प्रकृतिको खेल खेलेको देखिएको,' सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छानबिनमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले अप्रोच गरेको, एक विदेशी खेलाडीलाई व्यवस्थापक टिमका सदस्यबाट अप्रोच भएको र टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको देखिएको सीआईबीले जनाएको छ ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।
आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।
यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।

