काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै महबुबले दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको जनाएको छ ।
महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।
स्पट फिक्सिङको आरोपमा सीआईबीले महबुब र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिललाई सोमबार पक्राउ गरेको थियो ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।
आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।
यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।
