काठमाडौं । आयरल्याण्डले बंगलादेशसँग पहिलो पटक टेस्ट सिरिज खेल्ने भएको छ ।
आयरल्याण्डले बंगलादेशविरुद्ध एक खेलको टेस्ट सिरिज खेल्नेछ । सिरिज अप्रिल ४ देखि ८ सम्म ढाकामा हुनेछ ।
सन् २००८ पछि पहिलो पटक बंगलादेश भ्रमण गर्न लागेको आयरल्याण्डले घरेलु टोलीसँग समान ३/३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज पनि खेल्नेछ ।
बंगलादेशविरुद्ध आयरल्याण्डले मार्च १८, २० र २३ मा सिलेटमा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस लगत्तै मार्च २७, २९ र ३१ मा तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
आयरल्याण्डले २०१७ मा टेस्ट मान्यता पाएकोमा उसले हालसम्म तीन मात्र टेस्ट खेलेको छ । आयरल्याण्डको अन्तिम टेस्ट खेल सन् २०१९ मा भएको थियो ।