काठमाडौं । जापानमा आगामी बर्ष आयोजना हुने रग्बी विश्वकपको 'ट्रफी' अाज नेपालमा ल्यार्इदैछ । विश्व रग्बी 'ट्रफी' टुर अन्तर्गत विश्वकप ट्रफी बेलायत हुँदै अाज दिउँसाे ४ बजे नेपाल आईपुग्ने छ ।
नेपाल रग्बी संघको पहलमा नेपाल आउन लागेको विश्वकप 'ट्रफी' मंसिर २३ सम्म नेपालमा रहने छ । नेपालमा रहदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पुर्याईने छ ।
'ट्रफी' मंसिर २० गते सगरमाथाको आधार शिविरमा लगिने छ । मंसिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने छ ।
त्यस्तै मंसिर २२ गते टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान प्रदर्शनी गरिनेछ छ । फेस्टिभलमा स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ ।
'ट्रफी टुर'को अन्तिम दिन मंसिर २३ गते राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वहरुसंग फोटो खिच्ने र प्रदर्शनी गरीने कार्यकम रहेको छ ।
नेपालमा रग्बीको विश्वकप 'ट्रफी' पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको 'ट्रफी' ल्याईसकिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले रग्बीको विश्वकप 'ट्रफी' नेपालमा पहिलोपटक आउन लागेको बताउदै ट्रफी टुरमा सहभागी हुन आह्वान गरेका छन् ।
रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । साे विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।