काठमाडौं । चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् ।
उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए ।
यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ काश्य जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि रहेको छ । वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन् ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताअन्तर्गत भएको ६० वर्ष माथी उमेर समूहमा वडा नम्वर १९ का भेट्रान खेलाडी जगदिश्वरप्रसाद जोशीले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरी स्वर्ण पदक जिते ।
सो इभेन्ट्समा वडा नम्वर ११ का सानुभक्त श्रेष्ठ र वडा ११ कै शरदमान श्रेष्ठले काश्य पदक प्राप्त गरेका थिए ।
फ्लडलाइटको प्रकाशमा राती सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हुंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ ।
१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।