काठमाडौं । घरेलु टोली जिम्बाबेले आयरल्याण्डलाई पहिलो टी-ट्वान्टी खेलमा पराजित गरेको छ ।
हरारे स्पोर्टस क्लबमा बिहिबार भएको खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो । यो जितसँगै घरेलु टोलीले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १२ बल बाँकी रहँदा १ सय १८ रन बनायो ।
घरेलु टोलीका लागि सिन विलियम्सले ३४ रनको अविजित ईनिङ खेले । ग्यारी ब्यालेन्सले ३० तथा केल्लिभ मडान्डीले अविजित १८ रन बनाए । विस्ली माथीभेरीले १६ रन बनाउँदा रायन बर्लले ८ रन बनाए ।
पाहुना टोलीका लागि मार्क अडिर र ह्यारी टेक्टरले समान दुई दुई तथा ब्यारी म्याकार्थीले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले १९.२ ओभरमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो ।
भ्रमणकारी टोलीका लागि गारेथ डिलेनिले २४ तथा कुर्टिस क्याम्फियरले २० रन बनाए । स्टेफन डोहिनेले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
घरेलु टोलीका लागि रायन बर्लले तीन तथा टेन्डी चतारा,रिचार्ड नगर्भा र विलिङ्टन मसाकाट्जाले समान दुई दुई विकेट लिए ।
दुई टोलीबीचको दोस्रो टीट्वान्टी आगामी शनिबार हुनेछ ।