काठमाडौं । सिएमजी संकटा क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबलाई २ - १ ले पराजित गर्दै संकटा दोस्रो स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गरे । पुलिसका रबी पासवानले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
पुलिसविरुद्ध खेलको २९ औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेड गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा दिपेश आले मगरले गोल गरेपछि संकटाले २ - ० को अग्रता बनायो ।
तर, खेलको ३९ औं मिनेटमा रवी पासवानले गोल गर्दै पुलिसलाई २ - १ को स्थितिमा ल्याए । उनले अभिषेक रिजालको पास सदुपयोग गरे ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल संकटाले आफ्नो बनायो । खेलमा संकटाका सरोज म्यान अफ दि म्याच चुनिए ।
संकटाको यो पाँचौ जित हो ।जितसंगै संकटाले ६ खेलबाट १५ अंक जोडेको छ । र, शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसंग अंक बराबर गरेको छ ।
हेड टु हेडमा अघि रहेको मनाङले एक खेल कम खेलेको छ । तर, संकटाले आर्मीलाई पछि पार्दै दोसो स्थान हासिल गरेको हो ।
लिगमा १० अंक जोडेको नेपाल पुलिस पाँचौ स्थानमा छ । लिगमा पुलिसको यो दोस्रो पराजय हो ।